प्रयास पराजुली
१८ असार, काठमाडौं
माओवादी र कांग्रेसबीच सरकारलाई गिराउने विषयमा औपचारिक-अनौपचारिक छलफल भइरहँदा प्रधानमन्त्री केपी शर्मा ओली पनि नयाँ सरकारको लागि खुल्ला देखिएका छन् । तर, संविधान कार्यान्वयन देखि मधेस समस्याको समाधान हुने गरी प्रमुख तीन दल सहभागी हुने गरी सहमतीय सरकार बन्ने अवस्था आए प्रधानमन्त्री ओली सरकार छाड्न तयार भएका हुन् ।
प्रधानमन्त्री ओली निकटका नेता प्रदीप ज्ञवाली सहमतीय सरकारका लागि प्रधानमन्त्री सधैं खुल्ला रहेको बताउँछन् । ‘अहिले मधेस समस्या समाधान, संविधान कार्यान्वयन र भूकम्पपछिको पुनर्निर्माणको लागि पनि मिलेर जानुपर्ने अवस्था छ’ ज्ञवालीले नेपाली हेडलाइन्ससँग भने, ‘कम्तीमा कांग्रेस, एमाले र माओवादी सम्मिलित हुने गरी सहमतीय सरकार बन्ने अवस्था आए प्रधानमन्त्री नेतृत्वको विषयमा खुल्ला हुनुहुन्छ । उहाँले यो भन्दै पनि आउनुभएको छ ।’
तर, सहमतीय सरकार बन्ने अवस्था नआएसम्म प्रधानमन्त्री ओलीले राजीनामा गर्नुपर्छ भन्नेमा दम नभएको पनि उनले बताए । ‘तत्काल सहमतीय सरकार बन्ने अवस्था देखिएको छैन । यस्तै अवस्थाका बीच प्रधमानमन्त्री राजीनामा दिनुपर्छ भन्ने माग र भनाईमा कुदै दम छैन ।’ ज्ञवालीले भने ।
माओवादी नेतालाई हतारो
पछिल्लो समय माओवादी केन्द्रका केही नेतालाई ९ बुँदेको कार्यान्वयनभन्दा सरकारमा जाने हतारो भएको आरोप उनले लगाए । ‘९ बुँदेप्रति हामी प्रतिवद्ध छौं । ९ बुँदेका भावना बजेटमा पनि परेका छन् । शान्ति प्रक्रियाका विषयमा पनि हामीले प्रतिवद्धता जनाएका छौं । माओवादी अध्यक्षलाई शान्ति प्रक्रियाकै अप्ठ्यारोका कारण अष्ट्रेलिया भ्रमणमा नजान प्रधानमन्त्रीले रोक्नुभयो’ ज्ञवाली भन्छन्, ‘माओवादीका केही साथीहरुका सरकार फेर्ने बारे आएका अभिव्यक्ति सन्दर्भ सहमतिका बेलाभन्दा पनि राजनीतिक मान्यताले बोलेका हुन् ।’ ९ बुँदे सहमतिमा प्रतिवद्ध नहुने माओवादी नेताहरु सरकार फेर्न सके मन्त्री बन्ने अभिलाषा पूरा गराउन लागेकोले सरकारका विरुद्ध लागेको बुझाई ओली निकट नेताहरुको छ ।
कांग्रेसले खोज्यो भरपर्दो प्रतिवद्धता
प्रमुख प्रतिपक्षी दल कांग्रेस भित्रभित्रै सरकार फेर्ने तयारीमा लागे पनि यसपटक माओवादीबाट भरपर्दो प्रतिवद्धताको खोजीमा रहेको छ । सरकार फेर्न गत वैशाखको तेस्रो हप्ताको प्रयास विफल भएपछि कांग्रेस सभापति र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारको विकल्पमा लागिसकेका छन् । यसपटक देउवाले पहिले जस्तो सात बुँदेले हावा नखाने प्रतिवद्धता माओवादीबाट खोजेको छ ।
‘बहुमतीय सरकारमा सरकार परिवर्तन गर्न की प्रधानमन्त्रीले राजीनामा गर्नुपर्यो की बहुमत गुमाउनुपर्छ’ देउवा निकट नेता डा. प्रकाशशरण महतले नेपाली हेडलाइन्ससँग भने, ‘सत्ता साझेदार दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नयाँ सरकार गठनको गृहकार्य सुरु हुन्छ ।’
महत पनि पहिले सात बुँदे सहमति अन्तिममा धरापमा परेको संकेत गर्दै माओवादीबाट प्रष्ट प्रतिवद्धता आउनुपर्ने पक्षमा छन् ।nepaliheadlines


0 comments
प्रतिक्रिया दिनुहोस्...