खस्किँदो उमेरसँगै अनुहारमा चाउरीपना आउनु भनेको सामान्य अवस्था हो। तर कतिपयलाई यौवनावस्थामा नै यस्तो समस्याले सताइरहेको हुन्छ। आँखा मुनीको छाला चाउरी पर्नु, अनुहार फुस्रो हुनु अनि डण्डीफोरको दाग धब्बाले अधिकांशको सुन्दरतामा खेलवाड गरिरहेको हुन्छ। त्यसमाथि आकर्षक र विश्वसनीय विज्ञापनबाट प्रभावित भएर कैयौँ युवायुवतीहरूले नानाथरीका फेसवास, क्रिम र साबुन पनि प्रयोग गर्ने गर्छन्, जसले केहि समयको लागि त समस्याको हल गर्छ तर दीर्धकालीन रूपमा भने यसले नकारात्मक असर पुर्याइरहेको हुन्छ। फेसवास र फेसक्रिममा हुने कृत्रिक रसायनिक पदार्थले अनुहारमा हुने राम्रो ब्याक्टेरियालाई नष्ट गरी छालाको नरमता अनि चमकतालाई खतम पारिदिन्छ।
तथापी, चाउरीपना र फुस्रोपना हटाउन कुनै कृत्रिक सामग्रीको प्रयोग गरिराख्नुपर्दैन। घरमै बसेर घरेलु तथा प्राकृतिक विधिबाट पनि मुहारको सुन्दरता र चमकतालाई फिर्ता ल्याउन सकिन्छ। गर्मीको मौसममा धुँवा र धूलोको असरलाई पनि यस्तो विधिले सन्तुलनमा ल्याउँदछ।
जानौँ अनुहारको चाउरीपना हटाउने केहि घरेलु टिप्स–
१. मेवा– पाकेको मेवाको बोक्रा र भित्रको बियाँ फालेर गुदीको लेदो बनाई विहान र साँझ नियमित अनुहार लगाउनुहोस् र १५ मिनेटपछि पखाल्नुहोस्। यसमा भएको एण्टिअक्डिसेण्टले अनुहारमा भएका नराम्रा ब्याक्टेरियाहरूलाई नष्ट गरी डण्डीफोर, चाउरीपना र फुस्रोपनालाई हटाउँदछ।
२. काँक्रो– काँक्रोलाई पातलो चाना पारेर काट्नुहोस् र त्यसलाई चाउरी परेको छालामा नियमित पोत्नुहोस्। त्यसको १० मिनेटपछि राम्रोसँग सफा चिसो पानीले पखाल्नुहोस्। यसले विशेष गरी अनुहारको फुस्रोपनालाई हटाई चकमता प्रदान गर्न मद्दत गर्दछ।
३. भुइँकटहर– भुइँकटहरमा प्रशस्त भिटामीन-सी पाइन्छ, जुनलाई डण्डीफोर र अन्य दागधब्बाको लागि अचुक शुत्र मानिन्छ। त्यसैले भुइँकटहरको बोक्रा तासेर त्यसको बोक्रालाई अनुहारमा पोत्नुहोस्। भित्रको फलले मसाज गर्दा पनि उत्तम हुन्छ र भुइँकटहर खाने बानीले शरीरको प्रतिरक्षा प्रणालीमा समेत सुधार आउँदछ।
४. कागती– २ चम्चा महमा आधा टुक्रा कागतीको रस मिसाई दैनिक अनुहारमा लेप्नाले अनुहारको चाउरीपना हटाउँदछ र दागधब्बालाई पनि निको पार्दछ।
५. नरिवलको पानी– काँचो नरीवलभित्रको पानीलाई गिलासमा राखेर त्यसैले चाउरी परेको ठाउँमा नियमित मालिस गर्नाले पनि चाउरीपना हटाई अनुहारमा चमकता ल्याउन मद्दत गर्दछ।
६. मासको दाल– मासको दाललाई दूधमा भिजाएर रातभरी छोड्दिनुहोस् र विहान उठेर त्यसको लेदो बनाई अनुहारमा लगाउनुहोस्। १५ मिनेटपश्चात सफा चिसो पानीले पखाल्नुहोस्। यसो गर्नाले केहि हप्तामा बिस्तारै अनुहारको चाउरीपना हट्दै जानेछ।
७. केरा– केरा कत्तिको मन पर्छ? यो फलका अनेकौँ फाइदाहरू छन्, त्यसलगायत पनि विशेष गरी यसको बोक्रा फलभन्दा बढि फाइदाजनक हुने हालै भएको खोजबाट पत्ता लागेको छ। केराको बोक्राले मुटुरोगलाई राहत त दिन्छ, तर यसलाई अनुहारमा लगाउनाले चाउरीपना र फुस्रोपना पनि हटाउँदछ भन्ने उक्त खोजबाट पत्ता लागेको छ। त्यसेले अब केरा खाएपछि बोक्रा फाल्ने भूल नगर्नुहोला।


0 comments
प्रतिक्रिया दिनुहोस्...