काठमाडौं, ७ साउन । सरकारबाट बाहिरिएको नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले अन्तिम समयमा नेकपा एमालेको अडान मानेका छन् ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको शीर्ष नेताहरुको बैठकमा कांग्रेस र माओवादीले एमालेको अडान मानेपछि अन्तिम समयमा तीन दलबीच संसद्को कार्यसूचीसम्बन्धी विवाद मिलेको हो ।
नेकपा एमालेले व्यवस्थापिका संसदको कार्यसूचीमा पहिला बजेटसम्बन्धी अर्थ विधेयक समावेश गरिनुपर्ने अडान राखेको थियो । तर, कांग्रेस र एमालेले प्रधानमन्त्रीविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव कार्यसूचीमा पहिला समावेश गरिनुपर्ने माग राखेको थियो ।
दुबैको अडानका बीच अन्तिममा एमालेले राखेको अडान मान्न कांग्रेस र माओवादी तयार भए ।
उपप्रधानमन्त्री एवं नेकपा एमाले उपाध्यक्ष भीम रावलले कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताबीच पहिला अर्थ विधेयक पारित गर्नेगरी अर्थ विधेयक र अविश्वासको प्रस्ताव एउटै कार्यसूचीमा राख्ने सहमति भएको जानकारी दिए ।
‘अन्तिम समयमा तीन वटै दल लचक भएर पहिला अर्थ विधेयक पारित गर्ने र त्यसैमा अविश्वासको प्रस्तावलाई छलफलका लागि ल्याउने सहमति भयो’ रावलले भने- ‘अपराह्न साढे चार बजे संसद बैठक बस्छ ।’ उनका अनुसार अविश्वास प्रस्तावभन्दा अगाडि बजेट आश्रित विधेयकमाथि छलफल हुनेछ ।
अब संसद बैठकबाट पहिला केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको बजेट पूर्ण रुपमा पारित हुनेछ । त्यसपछि प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमा छलफल सुरु हुनेछ ।
dainiknepal


0 comments
प्रतिक्रिया दिनुहोस्...