-->
बजेट पारित भएपछि प्रधानमन्त्रीलाई राजीनामा गर्न लगाउँछौँ भनेका छौँ
Advertisement

बामदेव गौतम, उपाध्यक्ष, एमाले
माओवादी केन्द्रले एमालेसँगको नौबुँदे सहमति र भद्र सहमति कार्यान्वयनमा असन्तुष्टि जनाउँदै राष्ट्रिय सहमतिको सरकार बनाउने निर्णय गर्यो । त्यतिवेला सहमति निर्माणमा भूमिका खेल्ने नेताको हैसियतमा यसबारे तपाईंको के टिप्पणी छ ?
त्यसवेला सहमति भएकै हो । राजनीतिक पार्टीहरूका बीचमा भएका सबै कुरा लिखित नै हुनुपर्छ भन्ने हुँदैन । सबैभन्दा ठूलो कुरा प्रतिबद्धता हो । मैले त्यतिवेलै त्यो प्रतिबद्धता खुलेरै व्यक्त गरेको हुँ । त्यही सहमतिका कारण सरकारले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न पाएको हो भन्नेप्रति मलाई कुनै ‘कन्फ्युजन’ छैन । लिखित र भद्र दुवै सहमति भएको हो भनेर मैले पार्टीमा पनि प्रस्टैसँग भनेको छु ।
तर, त्यो (भद्र) सहमति त मैले अस्वीकार गरेको हुँ, प्रधानमन्त्री भन्दै हुनुहुन्छ, कसरी भएको मान्ने त ?
प्रधानमन्त्रीले अन्तिममा म मान्दिनँ भन्दै मस्यौदाको कागजमा हस्ताक्षर गर्न नमानेकै हो । हस्ताक्षर गर्न नमाने पनि यो काम हुन्छ कि हुन्न भन्ने प्रश्न उठ्दा हामीले हुन्छ भनेका हौा । लिखित मस्यौदामा हस्ताक्षर गर्न जरुरी छैन, तर नीति तथा कार्यक्रम र बजेट पारित भएपछि त्यो काम (प्रधानमन्त्रीलाई राजीनामा दिन लगाउँछौा) गर्छौँ भन्ने कुरा मैले, माधव नेपाल, जेएन खनाललगायत सबैले गरेको हो । विष्णु पौडेलले पनि त्यो लागू हुन्छ भन्नुभएको हो ।
तीनबुँदे प्रधानमन्त्रीको निर्देशन र जानकारीमै तयार भएको थियो त ?
निर्देशनअनुसार नै भएको हो । हस्ताक्षर गर्नुपर्ने कुरा आएपछि उहाँ (प्रधानमन्त्री)ले रिसाएर राजीनामा गर्दिनँ, बरु अहिले नै राजीनामा गरेर हट्छु भन्नुभो । लिखित नगरौँ, मौखिक रूपमा त्यो कुरा लागू हुने कि नहुने भन्दा लागू हुन्छ भनेपछि नै उहाँहरूले नौबुँदेमा हस्ताक्षर गर्नुभएको हो ।
माओवादीले त भद्र सहमति र नौबुँदे सहमति कार्यान्वयन नहुने हो भने एजेन्डा मिल्नेसँग सरकारका लागि समीकरण बनाउनेसम्मको कुरा गरेको छ नि ?
त्यसवेलाको सहमति लागू हुनुपर्छ । अहिलेको सरकारको गठबन्धन कायम रहनुपर्छ । यसले नै राष्ट्रको हित गर्छ । एमालेको नेतृत्वमा नीति–कार्यक्रम र बजेट प्रस्तुत भएका कारण प्रधानमन्त्री परिवर्तन भएपछि पनि त्यो कार्यान्वयन हुन जरुरी छ । यदि त्यस्तो भएन, नयाँ सरकार आयो भने उसले कतिपय कार्यक्रम लागू गरे पनि कतिपय लागू नहुन सक्छ ।
पछिल्लो स्थिति हेर्दा त कांग्रेससँग मिलेर बहुमतीय सरकार बन्नेजस्तो देखियो नि ?
मेरो कुरा त सहमति कार्यान्वयन हुनुपर्छ र अहिलेकै गठबन्धन चुनावसम्म जानुपर्छ भन्ने हो । त्यसवेलासम्म अहिलेको गठबन्धन परिवर्तन गर्नुहुन्न ।
तपाईंले भनेअनुसार त राष्ट्रिय सहमतिको सरकार नबनेर कांग्रेस फेरि पनि बाहिरै रहने भयो नि त ?
कांग्रेसका नेताहरूमा कांग्रेस या एमालेमध्ये एक प्रतिपक्षमा बस्नुपर्छ भन्ने मान्यता छ । अब हुने गठबन्धनमार्फत एमालेलाई जसरी पनि बाहिर राख्ने कुरा उनीहरूमा देखियो । अहिलेको सरकारले संविधान कार्यान्वयन गर्नेगरी नीति–कार्यक्रम र बजेट ल्याएको छ । स्थानीय, प्रादेशिक र संघीय संसद् तीनवटै निर्वाचन गरेपछि नै संविधान कार्यान्वयनमा जान्छ । त्यसैले जे भद्र सहमति गरेका छौा, त्यसलाई कार्यान्वयन गर्नुपर्छ । प्रधानमन्त्रीले मैले गरेको छैन भन्नुहुन्छ भने पनि उहाँले पठाएर नै मैले प्रचण्डलाई त्यतिवेला हुन लागेको अर्को गठबन्धन रोक्न अनुरोध गरेको हुँ । त्यसपछि बन्न लागेको गठबन्धन तोडेर अहिलेको गठबन्धन जारी राख्न आउनुभएको हो । त्यसकारण उहाँ (प्रधानमन्त्री)ले पठाएर मैले त्यसवेला पार्टीका तर्फबाट सहमति गरेको हुँ । त्यो लागू हुनुपर्छ भन्ने मेरो दृढ मत छ ।
कांग्रेस र माओवादीबीचको गठबन्धन बन्ने स्थिति आउँदा एमाले प्रतिपक्षको हैसियतमा बाहिरै बस्छ भन्ने कुरा बाहिर आइरहेको छ नि ?
राष्ट्रिय सहमतिको सरकार बन्यो भने हामी विरोध गर्दैनौँ । हामी सरकारमा गए पनि नगए पनि त्यसलाई समर्थन गर्छौँ, पार्टीले निर्णय पनि गरिसकेको छ । अधिकतम सहमति भने पनि, राष्ट्रिय सहमति भने पनि कांग्रेस, एमाले र माओवादी केन्द्र एक ठाउँमा बसेर अरू सबैलाई समेटेर जाने कुरा हो । त्यो हामी गर्दैनौँ भन्छन् भने हामी लतारिएर जाँदैनौँ, प्रतिपक्षमा बसेर दृढतापूर्वक आफ्ना नीति, कार्यक्रमका पक्षमा खडा हुन्छौ र अघि बढ्छौ ।
(नयाँ पत्रिका दैनिकबाट साभार)
dainiknepal


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.