धनुषा । असार १६ – विदेश जानेलाई म्यानपावरले ढाँटेको धेरै सुनिन्छ तर विदेश जानेले म्यानपावरलाई ढाँटे भन्दा पत्याउन गाह्रो पर्छ । तर महोत्तरीको रतौली–४ का सुकदेव शाह (फोटोमा निलो टिसर्ट लगाएका) ले विदेश जाने बेलामा म्यानपावरलाई ढाँट्नु भयो।
गएको वर्ष विदेश जान ललितपुर जावालाखेलमा रहेको सूर्या म्यानपावरमा पुगेका शाहले कतारको एम्स एण्ड कन्ट्रयाक्टीङ कम्पनी (डब्लु एलएल) का लागि अन्तरवार्ता दिनुभयो । म्यानपावरलाई उहाँले टाइल डकर्मीको सीप छ भनेर त्यसकै लागि अन्तरवार्ता दिनुभयो ।
अन्तरवार्तामा पास भएर विदेश पनि पुग्नुभयो तर विदेश पुगिसकेपछि कम्पनीलाई ढाँट्न सक्नुभएन । ‘त्यहाँ त भन्दिँदा भएको थियो तर यहाँ त काम नै गर्नुपर्यो अनि कसरी सक्नु’ सुकदेवले भन्नुभयो ।
गएको वर्ष जेठ १५ गते कतार उडेका सुकदेवले टायल्स डकर्मीको काम पाउनुभयो । तलव महिनाको १२ सय रियाल थियो । कम्पनीले भनेकै अनुसार काम र तलव दियो तर सुकदेवले गर्न सक्नुभएन । कारण थियो नेपालमा हुँदा झुट बोल्नु । म्यानपावरमा उहाँले टायल्स डकर्मीको काम आउँछ भन्नुभएको थियो तर काम गर्न आउनु त परैको कुरा त्यो काम कस्तो हुन्छ देख्नुपनि भएको थिएन । त्यसैले उहाँले काम गर्नैै सक्नुभएन । भन्नुहुन्छ ‘न जानेको न सिकेको अनि कसरी काम गर्न सक्नु ।’ विदेश जाने बेलामा विदेश पुगेपछि त जे भएपनि गरिहालिन्छ नी भन्ने सोचेर ढाँटेका सुकदेवले विदेश पुगेपछि हण्डर खानुभयो ।
सुकदेवले दुई हप्तासम्म पनि कामको मेलो नसमाएपछि कम्पनीले उहाँलाई अर्कै काममा लगायो । काम मात्रै फेरिएन तलव पनि १२ सयबाट घटेर ८ सय रियालमा झर्यो । त्यसले उहाँलाई चिन्ता बढ्न थाल्यो ।
नेपालबाट विदेश जाने बेलामा १ छोरा २ छोरीलाई बोर्डिङ स्कूलमा पढाउने अनि परिवारलाई सुख दिने सपना लिएर कतार पुगेका सुखदेवको भागमा दुःख परेपछि एक्लै बस्ने, बरबराउने, काम र कम्पनी छोडेर सडकमा प्लाष्टिकका बोतल टिपेर हिँड्न थाल्नुभयो ।
तीन महिनासम्म पनि सुकदेवको व्यवहारमा कुनै परिवर्तन नआएपछि कम्पनीले उहाँलाई नेपाल फिर्ता पठायो । पैसा त कमाई भएन नै, नेपाल फर्किँदा सुकदेवको अवस्था जाँदाको भन्दा पनि विग्रिएको थियो ।
‘अरु त के भन्नु चार महिनामा नयाँ लुगा पनि फेर्न सकिन त्यही भएन जाँदा जुन टिसर्ट लगाएर गएको थिएँ त्यही लाएर फर्किएँ’ सुकदेवले भन्नुभयो । विदेश जाँदा र फर्किंदाको सुकदेवमा यति फरक थियो कि जाँदा लगाएको नयाँ टिसर्ट आउँदा च्यातिन थालेको थियो ।
कमाउन गएको घरमुली रित्तो हात फर्किएपछि सुकदेवको परिवारमा समस्या झनै बढेर गयो । विदेश जाँदा भाइसँग सयकडा ३ रुपैयाँ ब्याजका दरले ४० हजार पनि बढ्यो । ऋण बढेपनि सुकदेवसँग तिर्ने कुनै उपाय थिएन । त्यसैले उहाँले भएको १० कठ्ठा मध्ये ४ कठ्ठा बेचेर ऋण तिर्नुभएको छ ।
विदेशले गाउँका केहि व्यक्तिको जीवनस्तर फेरिए पनि सुकदेवको भने भएको जायजेथा पनि गुमाउनुभएको छ । तर उहाँसँग गुनासो गर्ने कुनै ठाउँ छैन । ‘अरुले ठगेको भए पो दोष लाउनु आफैँ ढाँट्ने हुँदा यस्तो भयो अब के भन्नु’ सुकदेव भन्नुहुन्छ ।
विदेशले सपना पूरा नभएपछि सुकदेव र उहाँकी श्रीमती सम्तोलिया देवी साह अहिले गाउँकै इटाभट्टामा मजदुरी गर्दै हुनुहुन्छ । ‘जेनतेन बिहान बेलुकाको छाक टर्दैछ’ सुकदेवकी श्रीमती सम्तोलिया देवी साहले भन्नुभयो ।- उज्यालो अनलाइन


0 comments
प्रतिक्रिया दिनुहोस्...